चितवन । कृषि तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। चितवनको भरतपुरमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार उनले आफ्ना निकटस्थ नेता तथा कार्यकर्ताहरूमाझ उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेकी हुन्। किसान, भूमिहीन र सीमान्तकृत समुदायको आवाजलाई पार्टीको नेतृत्व तहसम्म पुर्याउन तथा समावेशी एवं जनमुखी पार्टी निर्माणका लागि आफूले उम्मेदवारी दिएको उनले बताइन्। कञ्चनपुरकी स्थायी बासिन्दा ३३ वर्षीया चौधरीले आफू सामान्य किसान परिवारमा जन्मिएर अभाव, संघर्ष र सामाजिक विभेद पार गर्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग मत र समर्थनको अपेक्षा गरेकी छन्।
आर्थिक अभावका कारण साहुसँग ऋण लिएर अध्ययन गर्नुपरेको अवस्थाबीच उनले कानुन विषयमा स्नातकोत्तर पूरा गरेकी हुन्। कानुन व्यवसायलाई सामाजिक न्यायको माध्यम बनाएकी चौधरीले कञ्चनपुर क्षेत्रका १५० भन्दा बढी गरिब, दलित तथा सीमान्तकृत नागरिकलाई निःशुल्क कानुनी सहायता प्रदान गरिसकेकी छन्। विशेषगरी घरजग्गा विवाद र घरेलु हिंसाका मुद्दामा सक्रिय भूमिका खेलेका कारण उनी सामाजिक न्यायका पक्षधर व्यक्तित्वका रूपमा परिचित छिन्। २०६२–०६३ को जनआन्दोलन पछि एमाले निकट अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेकी चौधरी सांसद बन्नुअघि अदालतको बहस र सडक आन्दोलन दुवैमा सक्रिय नेतृ हुन्। पार्टीभित्र नयाँ पुस्ता र समावेशी नेतृत्व स्थापित गर्ने बहस चलिरहेका बेला उनको यो उम्मेदवारीलाई महत्त्वका साथ हेरिएको छ।



