चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबारका लागि तय गरिएको बन्दसत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिहरूको परिचयपत्र वितरण कार्यमा ढिलाइ भएपछि सोमबारको बन्दसत्रको कार्यतालिका स्थगित गरिएको हो।
रास्वपा निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले बन्दसत्र स्थगित भएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार निर्वाचन आयोगको बैठक बसेर बन्दसत्र स्थगनको औपचारिक सूचना जारी गर्ने तयारी भइरहेको छ।
पार्टी स्रोतका अनुसार सोमबार महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गर्ने कार्य मात्रै सम्पन्न गरिने छ। परिचयपत्र वितरणको काम सकिएपछि मंगलबार बिहानबाट मात्र बन्दसत्र सुरु हुने जानकारी दिइएको छ। सोमबारको कार्यतालिका प्रभावित भएसँगै रास्वपाको महाधिवेशन स्वतः एक दिन लम्बिने भएको छ। यस महाधिवेशनमा कुल महाधिवेशन प्रतिनिधिहरूको सङ्ख्या ३ हजार ८ सयभन्दा बढी रहेको पार्टी स्रोतले जनाएको छ।



