पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज ७ देखि फ्लाई दुबईले उडान भर्ने

प्रकाशित मिति:

काठमाडौं । लामो पर्खाइपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गतेदेखि फ्लाई दुबईले पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्ने भएको छ। विश्वकै प्रमुख हवाई ट्रान्जिट हब दुबईसँगको यो सिधा सम्पर्कले पोखरालाई पहिलोपटक अन्तर्राष्ट्रिय हवाई सञ्जालमा बलियो गरी जोड्ने छ। विमानस्थल सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। यसअघि सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सुरु गरे पनि यात्रु अभावमा त्यो हाल स्थगित छ। फ्लाई दुबईको यो सेवा पोखराबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला गरिसकेको छ।

यो उडान सेवाबाट पोखरा र सिङ्गो गण्डकी प्रदेश मात्र नभई मुलुककै पर्यटन र अर्थतन्त्रमा ठुलो टेवा पुग्ने विश्वास लिइएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक साझेदारी (कोडसेयर) का कारण यात्रुले पोखराबाटै एउटै टिकटमा दुबई हुँदै युरोप, अमेरिका वा अस्ट्रेलियासम्मको सहज यात्रा गर्न सक्नेछन्। यसले ट्रान्जिटमा लगेज आफैँ सार्नुपर्ने झण्झट हट्नेछ भने यात्रा अवधि र खर्च समेत घट्नेछ। २२ अर्ब रुपैयाँ ऋणमा बनेर हाल आन्तरिक उडानमा मात्र सीमित रहेको यस विमानस्थलमा फ्लाई दुबईको आगमनपछि एयर अरेबियाले पनि उडान भर्न चासो देखाएको छ। पर्यटन व्यवसायीले यस सिधा उडानले पोखरा र आसपासका क्षेत्रमा विदेशी पर्यटकको आगमन बढाउने र आर्थिक समृद्धिको नयाँ ढोका खोल्ने अपेक्षा गरेका छन्।

ताजा समाचार