कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुलको उत्तरतर्फको ड्याम (गाइडबण्ड) पुनर्निर्माण कार्यले गति लिएको छ। वर्षायाममा तटीय क्षेत्रमा हुन सक्ने बाढीको जोखिम र सम्भावित क्षति न्यूनीकरणका लागि नेपाली सेनाले यसको पुनर्निर्माण तीव्र पारेको हो।
संघीय सरकारको अनुरोधमा एक साता अघिदेखि नै सेना यस कार्यमा जुटेको थियो। कामलाई छिटो सक्न सुदूरपश्चिम पृतनाका साथै अन्य पृतनाबाट समेत थप जनशक्ति परिचालन गरिएको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ। निर्माण कार्यको प्रगति बुझ्न र निरीक्षणका लागि सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी किरण केसीसहितको सैनिक टोली सोमबार निर्माणस्थल पुगेको थियो।
सेनाका अनुसार पुनर्निर्माणका लागि जनशक्तिको कुनै अभाव छैन र प्राविधिक टोलीसहितका जवानहरू कार्यक्षेत्रमा निरन्तर खटिएका छन्। यस कार्यमा सडक डिभिजन कार्यालय कञ्चनपुरले आवश्यक मेसिनरी सामान उपलब्ध गराएर सहयोग गरिरहेको छ।
गत वर्षको बाढीले यस गाइडबण्डको तल्लो भागको करिब ३०० मिटर क्षेत्रमा क्षति पुर्याएको थियो। त्यतिबेला सरकारले महाकाली पुल आयोजनालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्दै तटीय बस्ती जोगाउने जिम्मा सेनालाई सुम्पेको थियो। यस वर्ष पनि वर्षाको समयमा हुन सक्ने क्षति रोक्न सरकारले पुनः सेनालाई नै यो जिम्मेवारी दिएको हो।
यस पुनर्निर्माण कार्यको संयोजनको जिम्मेवारी श्री नं २५ बाहिनीका बाहिनीपति सहायकरथी बिजितराज रेग्मीले सम्हालिरहेका छन् भने केन्द्रबाट एक जना प्राविधिक प्रमुख सेनानी पनि कार्यक्षेत्रमा खटिएका छन्। महाकालीको पक्की पुलको ९५ प्रतिशत काम सकिए पनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृत हुन नसक्दा र भेरियसन अर्डर (VO) को विवाद नमिल्दा निर्माण कम्पनीले गत वर्षदेखि काम रोकेर बाहिरिएको थियो। सोही कारण अहिले सेनाले यसको संरक्षण र पुनर्निर्माणको काम अघि बढाएको हो।



