काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत कुनै पनि पदका उम्मेदवारका प्रस्तावक र समर्थकले अर्को उम्मेदवारका लागि सोही भूमिका निर्वाह गर्न नपाउने भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै कुनै एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको फारममा प्रस्तावक वा समर्थकका रूपमा हस्ताक्षर गर्न नपाउने स्पष्ट पारेको हो।
आयोगका प्रमुख भुवन केसीका अनुसार पार्टी सभापति पदका उम्मेदवारले मनोनयन फारम दर्ता गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य बुझाउनुपर्नेछ। त्यस्तै, पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने जनाइएको छ।
नियमविपरीत प्रस्तावक वा समर्थक दोहोरिएर फारम दाखिला भएमा उक्त उम्मेदवारी स्वतः अमान्य हुने प्रमुख केसीले चेतावनी दिनुभएको छ। यसैगरी, कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक बनेका व्यक्तिले आफैँ पदाधिकारी वा सदस्य पदमा उम्मेदवारी दिन नपाउने नियम समेत आयोगले तय गरेको छ। रास्वपाको महाधिवेशनअन्तर्गत आज बन्दसत्र हुँदैछ भने बन्दसत्र सकिएलत्तै निर्वाचन प्रक्रिया अघि बढ्ने पार्टीले जनाएको छ।



