मुख्यमन्त्रीका ज्वाइँ दीपक यादव कांग्रेस छोडेर रास्वपामा

प्रकाशित मिति:

चितवन । रौतहटको गरुडाका दीपक यादव नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। चितवनमा जारी रास्वपाको महाधिवेशनस्थल पुगेर उनले पार्टीको सदस्यता लिएका हुन्। यादव मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवका जेठा ज्वाइँ हुन्।

लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय यादवले पार्टीभित्रको आन्तरिक गुटबन्दी र युवा नेतृत्वलाई अघि बढ्न नदिने वातावरणका कारण आफूले विकल्प रोजेको बताएका छन्। ३६ वर्षीय यादवको परिवारको रौतहटमा पुरानो राजनीतिक इतिहास छ। उनका हजुरबुबा हृदयनारायण यादवले रौतहट-३ बाट पटक-पटक निर्वाचन लडेका थिए भने बुवा रामनारायण यादव २०७४ को प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका थिए।

यसअघि, २०७९ सालको स्थानीय तह निर्वाचनमा दीपकले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गरुडा नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका थिए। राजनीतिक रूपमा महत्त्वाकांक्षी मानिएका यादवको रास्वपा प्रवेशलाई मधेश प्रदेशमा रास्वपाको सङ्गठन विस्तारको रूपमा हेरिएको छ।

ताजा समाचार