काठमाडौं । सरकारले ल्याएका आठवटा अध्यादेशमध्ये चारवटाको प्रतिस्थापन विधेयक सङ्घीय संसद्मा दर्ता भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ दर्ता गराएका छन्। त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक’ र भूमि व्यवस्था तथा सहकारी मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक २०८३’ दर्ता गराएका हुन्। गत असार ५ गते दुवै सदनबाट स्वीकृत भएका यी अध्यादेशहरू संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र (अर्थात् आगामी असार मसान्तभित्र) दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। तोकिएको समयभित्र ऐनका रूपमा प्रमाणीकरण नभएमा यी सबै व्यवस्था स्वतः निष्क्रिय हुनेछन्।



