काठमाडौं । नेकपा (एमाले) को आकस्मिक संसदीय दलको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको छ। पार्टीका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेपछि सिर्जित परिस्थिति र पार्टीको आगामी रणनीतिका विषयमा छलफल गर्न एमालेले यो बैठक बोलाएको हो। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सङ्घीय संसद्का सांसदहरूको उपस्थिति रहेको छ।
पार्टी उपाध्यक्ष पौडेललाई सोमबार साँझ सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। एमालेले यस पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै आपत्ति जनाएको छ। च्यासलमा जारी संसदीय दलको बैठक सकिएलगत्तै आजै साँझ ६ बजे अध्यक्ष ओलीको भक्तपुरस्थित गुण्डु निवासमा पार्टीको केन्द्रीय सचिवालय बैठक समेत आह्वान गरिएको छ। यी दुवै बैठकबाट एमालेले पौडेल पक्राउ प्रकरणमा सरकारविरुद्ध कडा राजनीतिक एवं कानुनी कदम चाल्ने रणनीति तय गर्ने बुझिएको छ।



