सदस्यता अद्यावधिक नगर्नेलाई सिस्टमले चिन्दैन : गगन थापा

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सदस्यता अद्यावधिक नगर्ने नेता तथा कार्यकर्तालाई कांग्रेसले सम्मान गरे पनि सदस्यका रूपमा स्वीकार गर्न नसक्ने बताएका छन्। आज झापा पुगेका सभापति थापाले पार्टीभित्र सदस्यता नवीकरण नगर्ने इतर समूहका शीर्ष नेताहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। हाल कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका कतिपय नेताहरूले सदस्यता अद्यावधिक गरेका छैनन्।

इतर पक्षका नेताहरूतर्फ सङ्केत गर्दै सभापति थापाले भने, “म सबै नेताहरूलाई सम्मान गर्छु र उहाँहरूले अधिवेशनमा भाग लिनुपर्छ भन्ने ठान्छु। तर, तपाईँहरूमध्ये कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने मलाई क्षमा गर्नुहोला, अब सिस्टमले नै उहाँहरूलाई सदस्यका रूपमा चिन्दैन।” उनले आगामी वडा अधिवेशनमा प्रविधिमा आधारित डिजिटल प्रणाली (सिस्टम) लागू हुने भएकाले अद्यावधिक नभएका साथीहरूको नाम प्रतिनिधिले कपीमा बोकेर आउँदैमा प्रणालीले स्वीकार नगर्ने स्पष्ट पारे।

नयाँ पुस्ताको नेतृत्व विकासबारे बोल्दै थापाले पार्टीमा युवाहरू अगाडि बढ्दा आफूलाई खुसी लाग्ने बताए। “नयाँ पुस्ताका कांग्रेस चलाउन सक्ने एक से एक साथीहरू आएका छन्, यिनीहरूलाई देख्दा खुसी लाग्छ,” कुर्सीमा टाँसिइरहने पुराना नेताहरूतर्फ व्यङ्ग्य गर्दै उनले थपे, “झ्याम्म कुर्सी समातेर, अड्किएर बसेर चल्दैन। हल्लिन र उठ्नै नसक्ने गरी दायाँ-बायाँ नगरी बस्ने प्रवृत्तिले अब कांग्रेस चल्न सक्दैन।”

ताजा समाचार