विनोद शाही मृत्यु प्रकरण: काँग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद

प्रकाशित मिति:

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्ट्याउँदै ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ। उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र न्यायाधीश पुनम सिंह चन्दको संयुक्त इजलासले जिल्ला अदालत अछामको यसअघिको फैसला उल्ट्याउँदै प्रतिवादीहरूलाई दोषी ठहर गरेको हो।

अदालतका प्रवक्ता नरबहादुर नेगीका अनुसार प्रतिवादीहरू नेपाली काँग्रेसका नगर सभापति सज्जन शाही, महेन्द्र शाही, बिरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई जनही जन्मकैदको सजाय सुनाइएको छ। साथै, अदालतले प्रत्येक प्रतिवादीबाट पीडित पक्षलाई जनही १/१ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ। अन्य चार प्रतिवादी—पानमति बम शाही, द्रोपति शाही, कर्णबहादुर शाही र शान्ति कुमारी शाहीका हकमा भने जिल्ला अदालतको सफाइकै फैसला सदर गरिएको छ। यसअघि ४ मंसिर २०८२ मा जिल्ला अदालत अछामले सबै प्रतिवादीहरूलाई सफाइ दिने निर्णय गरेको थियो।

यो घटना २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा काँग्रेस र एमाले कार्यकर्ताबीच भएको विवादबाट सुरु भएको थियो। सो क्रममा विनोद शाही बेपत्ता भएका थिए र जेठ २१ गते उनको शव घर नजिकैको जङ्गलमा फेला परेको थियो। पीडित पक्षले नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिए पनि जिल्ला सरकारी वकिल कार्यालयले मेयरसहित केही आरोपितविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।

ताजा समाचार