कञ्चनपुर । कञ्चनपुरका सात स्थानीय तहले मृत्यु भइसकेका १८७ जना व्यक्तिका नाममा लाखौँ रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार यी पालिकाहरूले मृतकका खातामा कुल १५ लाख ७ हजार रुपैयाँ भुक्तानी गरेका हुन्।
प्रतिवेदन अनुसार कृष्णपुर नगरपालिकाले सबैभन्दा बढी ४९ जना मृतकको खातामा ३ लाख ३८ हजार ८९१ रुपैयाँ पठाएको छ। यस्तै, शुक्लाफाँटा नगरपालिकाले ३५ जना मृतकका नाममा २ लाख ५९ हजार १११ रुपैयाँ निकासा गर्नुका साथै एक जनालाई दोहोरो भत्ता र एक विवाहित महिलालाई विधवा भत्ता समेत बाँडेको भेटिएको छ।
जिल्ला सदरमुकामस्थित भीमदत्त नगरपालिकाले ३३ जना मृतकको खातामा ४ लाख २० हजार १९६ रुपैयाँ, वेदकोट नगरपालिकाले २ लाख ६० हजार रुपैयाँ, बेलौरी नगरपालिकाले १७ जना मृतकको खातामा १ लाख ३० हजार २५७ रुपैयाँ र लालझाडी गाउँपालिकाले १३ जना मृतकको खातामा ९२ हजार २७३ रुपैयाँ पठाएका छन्। दोधाराचाँदनी नगरपालिकाले भने एक जना मृतकको खातामा ५ हजार ४१९ रुपैयाँ जम्मा गरेको पाइएको छ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार लाभग्राहीको मृत्यु भएको दिनसम्मको भत्ता मात्र हकवालाले पाउने व्यवस्था छ। तर, पालिकाहरूले समयमै लगत कट्टा नगर्दा राज्यकोषमाथि अनावश्यक भार परेको प्रतिवेदनमा उल्लेख छ। महालेखाले सो रकम असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्न निर्देशन दिएको छ।
स्थानीय तहहरूले भने वडा कार्यालयबाट समयमै सिफारिस र मृत्युदर्ताको विवरण नआउँदा यस्तो त्रुटि हुन गएको स्वीकार गरेका छन्। शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानाजान रकम निकासा नगरिएको दाबी गर्दै बढी गएको पूरै रकम असुल गरिने बताए।



