काठमाडौं । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पक्राउलाई गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम ठहर गर्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ। गएराति सम्पन्न एमाले सचिवालय बैठकले सरकारको यो कदम तथ्य र प्रमाणमा आधारित नभई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको निष्कर्ष निकालेको हो।
बैठकपछि पार्टीका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत बैठकका निर्णयहरू सार्वजनिक गर्दै उपाध्यक्ष पौडेलको गैरकानुनी गिरफ्तारीविरुद्ध पार्टीले राजनीतिक र कानुनी रूपमा सशक्त प्रतिवाद गर्ने जानकारी दिए।
यसैगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धानका सिलसिलामा पौडेललाई हिरासतमा राख्न विशेष अदालतले दिएको आदेशप्रति समेत एमालेले कडा असहमति जनाएको छ। सचिवालयको निर्णयमा भनिएको छ, “राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित यस घटनामा विशेष अदालतले पूर्पक्षका लागि थुनामा राख्न (म्याद थप गर्न) दिएको आदेशसमेत न्यायसम्मत नरहेको ठहर गर्दछ।”
बैठकले सरकारको यस किसिमको रवैयाविरुद्ध देशव्यापी रूपमा राजनीतिक प्रतिरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। महासचिव पोखरेलका अनुसार राज्य संयन्त्रको यस्तो निरंकुश र विभेदकारी कदमका विरुद्ध एकजुट हुन एमालेले सम्पूर्ण पार्टीपंक्तिलाई आह्वान गरेको छ।



