चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने भएको छ। केन्द्रीय सदस्यका उम्मेदवारहरूको अन्तिम नामावली तयारी तथा प्राविधिक प्रक्रियाहरू पूरा गर्न समय लागेकाले निर्वाचन कार्यक्रम केही पछि सरेको हो।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलन आयोजना गरी निर्वाचन प्रक्रिया सुरु हुन केही समय लाग्ने जानकारी दिए।
महामन्त्री बुर्लाकोटीका अनुसार केन्द्रीय सदस्यका उम्मेदवारहरूको दाबी-विरोध, उम्मेदवारी अध्ययन तथा विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) मा उम्मेदवारहरूको नामावली प्रविष्ट (इन्ट्री) गर्ने काम भइरहेकाले मतदान सुरु हुन समय लागेको हो।
हालसम्म केन्द्रीय सदस्यका लागि ३७० जनाको उम्मेदवारी परेको जानकारी दिँदै कतिपय आकांक्षीहरूको नाम दोहोरिएकाले अन्तिम संख्या केही घट्न सक्ने उनले बताए। महाधिवेशन प्रतिनिधिहरूले भोगिरहेका प्राविधिक तथा अन्य समस्या समाधानका लागि खाना खाने हल पछाडि तीनवटा ‘हेल्प डेस्क’ स्थापना गरी प्रदेश सभापति र महामन्त्रीमार्फत सहजीकरण भइरहेको रास्वपाले जनाएको छ।



