काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ (कुनै पनि उम्मेदवारलाई मत नदिने) को प्रावधान राख्नुपर्ने माग गरेका छन्। पार्टीको महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढकालले पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सम्भव नभए पनि अब हुने पदाधिकारीको निर्वाचनमा यो व्यवस्था लागू गर्न माग गर्ने बताए।
ढकालले केन्द्रीय समिति ९९ सदस्यीय हुनुपर्ने बाध्यता भए पनि पदाधिकारी चयनमा भने मतदातालाई ‘नो भोट’ को अधिकार दिनुपर्नेमा जोड दिए। उनले आफू अहिले निर्णय गर्ने नभई माग राख्ने स्थानमा मात्र रहेको स्पष्ट पार्दै पार्टीलाई सही दिशामा अघि बढाउन पदाधिकारी तहमा हस्तक्षेपकारी भूमिका आवश्यक रहेको उल्लेख गरे।
“म माग राख्ने स्थानमा छु, निर्णय गर्ने ठाउँमा छैन,” ढकालले भने, “त्यसैले पनि मैले पदाधिकारी तहमा आउनुपर्छ। अलिकति हस्तक्षेप गरेर नै यो पार्टीलाई सही मार्गमा लैजानुपर्छ, पुरानै शैलीमा जानु हुँदैन।”
महाधिवेशनमा सोचेजस्तो व्यवस्थापन नभएको स्वीकार गर्दै ढकालले देखिएका कमीकमजोरीहरूलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए।



