रास्वपा महाधिवेशनमा गएपछि एमालेद्वारा वडाध्यक्ष सुवेदीलाई पदमुक्त गर्न सिफारिस

प्रकाशित मिति:

काठमाडौं । नेकपा (एमाले) बाट निर्वाचित मोरङको बेलबारी नगरपालिका-३ का वडाध्यक्ष योगेन्द्र सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रतिनिधि भएर सहभागी भएपछि कारबाहीमा परेका छन्। उनलाई वडाध्यक्ष पदबाट पदमुक्त गर्न एमाले मोरङले पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।

असार ९ गते विराटनगरमा बसेको एमाले मोरङको जिल्ला पदाधिकारी बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको जिल्ला सचिव सोमराज थापाले जानकारी दिए। सुवेदीले सामाजिक सञ्जालमार्फत रास्वपाका नेता गणेश कार्कीलाई केन्द्रीय सदस्यमा जिताउन अनुरोध गर्दै मत समेत मागेका थिए।

सुवेदी यसअघि एमाले मोरङको जिल्ला कमिटी सदस्य तथा पहिलो कार्यकालमा बेलबारी नगरपालिकाको प्रवक्ता समेत रहेका थिए। दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित उनी गत भदौमा भएको ‘जेनजी’ आन्दोलनपछि एमालेको राजनीतिमा निष्क्रिय बन्दै जिल्ला कमिटी सदस्यबाट राजीनामा दिएका थिए।

कानूनी व्यवस्था अनुसार कुनै पनि जनप्रतिनिधि जुन दलबाट निर्वाचित भएको हो, सो दल त्याग गरेमा वा अर्को दलमा लागेमा दलको सिफारिसमा निर्वाचन आयोगले पदमुक्त गर्ने प्रावधान छ। यसअघि पनि मोरङमा दल फेरेकै कारण दुई जना वडाध्यक्षले पद गुमाइसकेका छन्। निर्वाचन आयोगले यसअघि लेटाङ नगरपालिका-४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ (श्रम संस्कृति पार्टीमा प्रवेश) र रंगेली नगरपालिका-१ का वडाध्यक्ष महेशकुमार खनाल (रास्वपामा प्रवेश) लाई पदमुक्त गरिसकेको छ।

ताजा समाचार