सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावललाई सुरक्षा थ्रेट, प्रशासनसँग मागे पीएसओ

प्रकाशित मिति:

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आफूमाथि सुरक्षा चुनौती (थ्रेट) रहेको भन्दै प्रशासनसँग व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार रावलले असार १ गते लिखित रूपमै पत्र बुझाएर सुरक्षाको माग गरेका हुन्।

पूर्वमुख्यमन्त्रीको हैसियतमा पाइने पीएसओ फिर्ता भएपछि उनले जेएनजी आन्दोलनका क्रममा आफ्नो घर जलाइएको र संसदीय दलको कार्यालयमा पटक-पटक तोडफोड भएको कारण देखाउँदै असुरक्षित महसुस गरेको बताएका छन्। घर जलाउनेहरूविरुद्ध किटानी जाहेरी दिएर कानुनी लडाइँ लडिरहेका रावलले एक आम नागरिक र पूर्वमुख्यमन्त्रीका नाताले राज्यसँग सुरक्षा माग्नु आफ्नो अधिकार भएको उल्लेख गरेका छन्।

रावलको निवेदनपछि कञ्चनपुर जिल्ला सुरक्षा विश्लेषण समितिले उनको सुरक्षा थ्रेटको अवस्थाबारे अध्ययन सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी कोइरालाले समितिको अध्ययन र मूल्यांकनको निष्कर्षका आधारमा उनलाई कस्तो सुरक्षा व्यवस्था उपलब्ध गराउने भन्नेबारे आवश्यक निर्णय लिइने जानकारी दिएका छन्। २०७९ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत पाउन नसकेपछि एक महिनामै राजीनामा दिएका थिए।

ताजा समाचार