काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एकै सार्वजनिक कार्यक्रममा सँगै देखिँदै छन्। मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आज (असार १४ गते) राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा उनीहरू एउटै मञ्चमा जुट्न लागेका हुन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने उक्त कार्यक्रममा माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्नेछन्।
पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिन लागेकाले यस गोष्ठीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कार्यक्रममा शीर्ष नेताहरूले मदन भण्डारीको राजनीतिक विचार, योगदान र कम्युनिष्ट आन्दोलनमा उनको भूमिकामाथि केन्द्रित रहेर आ-आफ्नो धारणा राख्नेछन्। यसअघि असार १२ गते विराटनगरमा आयोजित एक कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका शक्तिहरूसँग छिट्टै एकता र एमालेसँग सहकार्य हुन सक्ने संकेत दिएका थिए। प्रचण्डको उक्त अभिव्यक्ति लगत्तै कम्युनिस्ट घटकका शीर्ष नेताहरू एकै ठाउँमा भेला हुन लागेकाले आजको कार्यक्रमलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।




