डालस । डालसमा भएको खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ को गोलअन्तरले सहजै पराजित गर्दै विश्वकपमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। अर्जेन्टिना यसअघि नै समूह ‘जे’ को विजेता बनिसकेकाले कप्तान लियोनल मेसीलाई सुरुमा बेन्चमा राखिएको थियो। खेलको ६०औँ मिनेटमा मैदान प्रवेश गरेका मेसीले खेल सकिन १० मिनेट बाँकी छँदा लो फ्रि-किकमार्फत उत्कृष्ट गोल गरे। यो गोलसँगै मेसी लगातार सातवटा विश्वकप खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। उनले सन् २०२२ को विश्वकपका अन्तिम चार खेल र सन् २०२६ को विश्वकपका सुरुवाती तीन खेलमा लगातार गोल गरेर यो नयाँ कीर्तिमान बनाएका हुन्। यसअघि यो रेकर्ड संयुक्त रूपमा फ्रान्सका जस्ट फोंटेन (१९५८) र ब्राजिलका जाइरजिन्हो (१९७०) को नाममा ६-६ खेलको थियो।
यो गोलसँगै मेसीले यस प्रतियोगितामा आफ्नो व्यक्तिगत गोल सङ्ख्या ६ पुर्याउँदै गोल्डेन बुटको दौडमा दुई गोलको अग्रता लिएका छन् भने उनको करियरको कुल विश्वकप गोल सङ्ख्या १९ पुगेको छ। खेलमा मेसी आउनुअघि नै अर्जेन्टिनाका लागि जियोभानी लो सेल्सोले फ्रि-किकमार्फत र लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए। जोर्डनका मौसा अल तामारीले दोस्रो हाफको १०औँ मिनेटमा एक गोल फर्काए पनि मेसीको प्रवेश र गोलले अर्जेन्टिनाको जित सुनिश्चित गर्यो। बीबीसी वनमा बोल्दै इङ्ल्यान्डका पूर्व मिडफिल्डर ड्यानी मर्फीले मेसीको प्रदर्शनको प्रशंसा गर्दै उनलाई खेल्दै गरेको हेर्नु नै एउटा अहोभाग्य भएको बताएका छन्।



