विद्युत् कटौतीले कञ्चनपुरमा व्यवसायी र कृषक मर्कामा

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरमा अघोषित रूपमा भइरहेको विद्युत् कटौतीका कारण साना तथा मझौला व्यवसायी, कृषक र सर्वसाधारण ठुलो मर्कामा परेका छन्। रातदिन बिजुली आउने–जाने र कम भोल्टेजको समस्याले गर्दा उद्योग व्यवसाय ठप्प हुने अवस्थामा पुगेका छन्। शुक्लाफाँटा नगरपालिका–१० का मिनिरल वाटर उद्योग सञ्चालक गोकर्ण पन्तले विद्युत् समस्याका कारण फिल्टर मेसिन र मोटर चलाउन नसक्दा बजारमा पानी आपूर्ति गर्नै मुस्किल भएको गुनासो गरे। त्यस्तै वेदकोट नगरपालिका–७ स्थित गोदावरी मिलका सञ्चालक अमित गुप्ताले अनियमित विद्युत्का कारण हालै मोटर मर्मतमा २० हजार रुपियाँ खर्च हुनुका साथै मिलमा कर्मचारी कटौती गर्नुपर्ने बाध्यता आइलागेको बताए। व्यवसायीहरूले विद्युत् कटौती गर्नुपरे पूर्वजानकारी दिएर तालिका अनुसार गर्न माग गरेका छन्।

यो समस्याले धान रोप्ने सिजनमा कृषकहरूलाई समेत उत्तिकै सास्ती दिएको छ। लालझाडी गाउँपालिका–४ का कृषक रमेश रानाले छिनछिनमा विद्युत् अवरुद्ध हुँदा सिँचाइ गर्ने मोटर नै बिग्रिएको र रोपेको धान सुक्न थालेको गुनासो गरे। कञ्चनपुरमा अनियमित विद्युत् कटौतीबारे नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख सन्तोष श्रेष्ठले अत्यधिक गर्मीका कारण बिजुलीको माग बढेपछि संरचनाले धान्न नसक्दा र विभिन्न ठाउँमा प्राविधिक खराबी आउँदा यो समस्या देखिएको बताए। मर्मतको काम तीव्र रूपमा चलिरहेकाले अबको केही दिनभित्रै विद्युत् आपूर्ति नियमित हुने उनले दाबी गरे।

ताजा समाचार