काठमाडौं । पश्चिमी युरोपको ठुलो भागमा चलेको भीषण उष्ण लहर (लु) का कारण अपेक्षा गरिएभन्दा थप करिब एक हजार जनाको मृत्यु भएको छ। पब्लिक हेल्थ फ्रान्सले जारी गरेको विज्ञप्ति अनुसार जुन २४ देखि अघिल्ला महिनाहरूको तुलनामा यो अतिरिक्त मृत्युदर देखिएको हो। स्वास्थ्य निकायका अनुसार गर्मीको जोखिमबारे चेतावनी घोषणा गरिएका क्षेत्रहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका छन्। यस मौसममा गर्मीका कारण ज्यान गुमाउनेहरूमध्ये ८५ प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिल्लो उमेर समूहका ज्येष्ठ नागरिक रहेका छन्। विशेष गरी फ्रान्सको राजधानी पेरिस र यसका उपनगरहरू समेटिएको इल-दे-फ्रान्स क्षेत्रमा अधिकांश व्यक्तिको मृत्यु घरभित्रै रहेका बेला भएको हो।
यो दुःखद तथ्याङ्कले एक्लो जीवन बिताइरहेका वा गम्भीर एकान्तमा रहेका, विशेष गरी अत्यधिक सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकहरूप्रति एकताको भावनाका साथ सहयोगी कदम चाल्नुपर्ने आवश्यकतालाई स्मरण गराएको विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य क्षेत्रले सार्वजनिक गरेका यी आँकडाहरू प्रारम्भिक मात्र भएकाले वास्तविक मृतकको सङ्ख्या योभन्दा अझ बढी हुन सक्ने अनुमान गरिएको छ। फ्रान्सका धेरै क्षेत्रहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेर जनजीवन अस्तव्यस्त बनेकोमा आइतबारदेखि भने देशभरिको औसत गर्मीमा केही कमी आएको छ।



