काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा कम्युनिस्ट एकताको विकल्प नरहेको बताएका छन्। जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार राखेका हुन्। लामो समयपछि दुई ठुला वामपन्थी दलका नेताहरू एउटै मञ्चमा उपस्थित भएको अवसरलाई उल्लेख गर्दै उनले समय र बाध्यात्मक परिस्थितिले हिर्काउन थालेकाले अब मिल्नुको विकल्प नरहेको औँल्याए। विगतमा कहिले सिङ त कहिले जुरो पलाएका कारण कम्युनिस्टहरू एक हुन नसकेको टिप्पणी गर्दै उनले आजकै दिनदेखि वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउने कार्यको थालनी गर्नुपर्नेमा जोड दिए।
नेता खनालले कम्युनिस्टहरू छिन्नभिन्न हुँदा भर्खरै सम्पन्न निर्वाचनमा वामपन्थी आन्दोलनले ठुलो क्षति बेहोर्नुपरेको चर्चा गरे। चुनावअघि नै कार्यगत एकता भएको भए वामपन्थीको पक्षमा करिब १०० सिट पुग्ने दाबी गर्दै उनले कम्युनिस्टहरू बलियो नहुँदा राजनीतिक अस्थिरता बढेको बताए। सम्बोधनका क्रममा उनले मदन भण्डारी र जीवराज आश्रितको निधन रहस्यमयी र षड्यन्त्रपूर्वक भएको चर्चा गर्दै यतिका वर्षसम्म पनि हत्यारा पत्ता लगाउन नसक्नु आफ्नै कमजोरी भएको स्वीकार गरे। यो षड्यन्त्र नेपाली कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्न रचिएको भन्दै उनले वैदेशिक हस्तक्षेप र चुनौतीविरुद्ध लड्नका लागि पनि सबै एकजुट हुनुपर्ने धारणा राखे।



