कैलालीमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार दम्पती घाइते

प्रकाशित मिति:

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कास्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान्-श्रीमती घाइते भएका छन्। इलाका प्रहरी कार्यालय लम्कीबाट करिब ७ किलोमिटर पश्चिम गप्का क्षेत्रमा उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सेनाका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से १ च १८६७ नम्बरको बोलेरो जिपले विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०१–०११ प ३१५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक जनक रिमाल र उनकी श्रीमती धना रिमाल घाइते भएका छन्। चालक जनकको टाउको, मुख तथा शरीरमा चोट लागेको छ भने पछाडि सवार धनाको टाउको, हात तथा मुखमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइतेलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पठाइएको छ।

दुर्घटनापछि फरार भएका बोलेरो चालक पछि प्रहरीको सम्पर्कमा आएका छन्। दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी तिमिल्सेनाले जानकारी दिए।

ताजा समाचार