धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको दुई साता बितिसक्दा पनि प्रदेश सभामा टेबुल हुन सकेको छैन। बजेटलाई लिएर सत्तापक्षकै दलहरूबीच विवाद बढेपछि बजेटमाथिको छलफल अनिश्चित बनेको हो।
सरकारले गत असार १ गते मध्यरातमा आगामी वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। तर, मध्यराति बजेट भाषण मात्रै गरिएकाले त्यससँग सम्बन्धित विनियोजन र अर्थ विधेयक सभामा पेस हुन पाएका थिएनन्। त्यसयता सत्ता साझेदार दल नेकपा (एमाले) ले बजेट संशोधन गर्नुपर्ने अडान राख्दै आएको छ। बजेट नसच्याए सरकार छाड्ने चेतावनी एमालेले दिएपछि मुख्यमन्त्री अप्ठ्यारोमा परेका छन्।
बजेट टेबुल नहुँदा प्रदेश सभाको बैठक कहिले बस्ने भन्ने टुङ्गो लाग्न नसकेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए। उनले कार्य व्यवस्था परामर्श समितिको बैठक बसे पनि सत्तापक्षभित्रै कुरा नमिल्दा सहमति हुन नसकेको जानकारी दिए।
संसदीय नियमअनुसार बजेटसँग सम्बन्धित विधेयकहरू सभामा टेबुल भएपछि मात्रै सांसदहरूलाई संशोधनका लागि ७२ घण्टाको समय मिल्छ र त्यसपछि मात्रै छलफल सुरु हुन्छ।
यता प्रतिपक्षले भने बजेट फेल हुने डरले सरकारले संसद्मा पेस गर्न नसकेको आरोप लगाएको छ। प्रमुख प्रतिपक्षी दलका नेता एवं सार्वजनिक लेखा समितिका सभापति अक्कलबहादुर रावलले बजेट असफल हुने निश्चित भएपछि सरकार संसद्बाट भागिरहेको दाबी गरे। सत्तापक्ष र प्रतिपक्ष दुवैको दबाबका कारण सुदूरपश्चिम सरकार अहिले बजेट ल्याएर पनि अघि बढ्न नसक्ने स्थितिमा पुगेको छ।



