काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको काम, व्यवहार र शैलीलाई मतदाता तथा जनताले विभिन्न माध्यमबाट नियालिरहेकाले सबैजना आफ्नो जिम्मेवारीप्रति थप सजग र उत्तरदायी बन्नुपर्ने बताएका छन्।
सङ्घीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभाका सदस्यहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमको सिंहदरबारमा उद्घाटन गर्दै सभामुख अर्यालले कानुन निर्माणका क्रममा जनप्रतिनिधिहरूले विगतका राम्रा अभ्यासबाट सिक्नुपर्ने, अध्ययनशील हुनुपर्ने र प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए।
प्रतिनिधिसभामा धेरै नयाँ अनुहार संसद्मा प्रवेश गरेको उल्लेख गर्दै उनले संसदीय विधि र प्रक्रियालाई अझ प्रभावकारी रूपमा बुझाउन यो प्रशिक्षण फलदायी हुने विश्वास व्यक्त गरे। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजी नभई सार्वजनिक हुने भएकाले सोहीअनुरूपको गम्भीरता प्रदर्शन गर्न उनले आग्रह गरे।
कार्यक्रममा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्वागत मन्तव्य राख्दै सांसदहरूलाई संसद्भित्रका विधि, प्रक्रिया र अभ्यासबारे व्यावहारिक जानकारी गराउने उद्देश्यले सचिवालयले आज र भोलि दुई दिने प्रशिक्षणको आयोजना गरेको बताए।



