कृषिलाई प्राथमिकतामा राख्न र बालअधिकार संरक्षण गर्न राष्ट्रियसभा सदस्यहरूको माग

प्रकाशित मिति:

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले कृषिलाई राज्यको मुख्य प्राथमिकतामा राख्दै खाद्यान्नमा आत्मनिर्भर हुनका लागि दीर्घकालीन नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरूले कृषि उत्पादन वृद्धि, किसानको संरक्षण र खाद्य सुरक्षालाई केन्द्रमा राखेर प्रभावकारी योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्। बैठकको विशेष समयमा बोल्दै सांसद दुर्गा गुरुङले गरिब, सीमान्तकृत तथा भूमिहीन नागरिकको हकहित सुनिश्चित हुने गरी कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइन्। त्यस्तै, सांसद सम्झना देवकोटाले धान तथा बीउ उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने वातावरण सिर्जना गर्न सरकारसँग माग गरिन्।

कृषि बाहेकका अन्य समसामयिक विषयमा पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद नरबहादुर विष्टले विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुपर्ने धारणा राखे। अर्का सांसद मोहम्मद खालिदले होल्डिङ सेन्टरसम्बन्धी उठेका प्रश्नहरूलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए। यसैगरी, सांसद विष्णुकुमारी सापकोटाले कुनै पनि राजनीतिक दलले बालबालिकालाई सदस्यता दिने वा राजनीतिक गतिविधिमा प्रयोग गर्ने कार्य उपयुक्त नहुने बताउँदै बालअधिकारको संरक्षणमा सबै दल जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरिन्।

ताजा समाचार