काठमाडौं । सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा सूचना संकलनलाई थप प्रभावकारी बनाउन र सर्वसाधारणको सहजताका लागि अलग्गै पोशाकमा आफ्नो जनशक्ति परिचालन गर्ने भएको छ। कम्ब्याट पोशाक र हतियारधारी सुरक्षाकर्मीसँग खुलेर कुरा गर्न हिचकिचाउने नागरिकहरूले आफ्ना समस्या सजिलै भन्न सकून् भन्ने उद्देश्यले सशस्त्रले यस्तो योजना अगाडि सारेको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मानिसहरूको बढी आवतजावत हुने तथा व्यापारिक रूपमा महत्त्वपूर्ण मानिएका प्रमुख सीमा नाकाहरूमा प्रतिनाका तीनदेखि पाँच जनासम्म यस्ता सुरक्षाकर्मी खटाइनेछ। यी सादा पोशाकका सुरक्षाकर्मीले नाकामा समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्नुका साथै सूचना संकलनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
सीमा क्षेत्रमा हुने गरेका चोरी, तस्करी, भन्सार छली जस्ता अवैध गतिविधि रोक्न तथा लागुऔषध कारोबार एवं प्रतिबन्धित कार्य नियन्त्रण गर्न यो परिचालन प्रभावकारी हुने सशस्त्र प्रहरीको ठहर छ। यो योजना आगामी आर्थिक वर्ष २०८३/०८४ भित्रै कार्यान्वयनमा ल्याइने भएको छ। यसरी सीमा नाकामा खटिने सशस्त्र प्रहरीले विशेष पोशाकका रूपमा सफारी र नेपाली टोपी लगाउनेछन्। बर्दीधारी सुरक्षाकर्मीलाई सूचना दिन डराउने सर्वसाधारणले यी सुरक्षाकर्मीलाई सहजै सूचना दिन सक्ने वातावरण बन्ने र यसले सीमा सुरक्षा थप बलियो हुने डीएसपी थापाले बताए।



