काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि पूर्वउपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराइएको छ। उनलाई सम्पत्ति शुद्धीकरण विभागको अनुरोधमा जरुरी पक्राउ पूर्जी दिएर यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। विभागले यसअघि अनुसन्धानका लागि पौडेललाई २० दिन थुनामा राख्न अनुमति मागेको भए पनि गत असार ९ गते अदालतले पहिलो पटक ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
यसैबीच, एमाले उपाध्यक्ष पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती दोमाया पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि भोलि दोस्रो सुनुवाइ हुँदैछ। यसअघि सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। थुनामुक्त गर्न माग गर्दै दायर गरिएको उक्त रिटको सुनुवाइ र विशेष अदालतको म्याद थप प्रक्रियालाई चासोका साथ हेरिएको छ।



