कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा हातपात तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी पत्रकार ऐश्वर्या कुँवर धरौटीमा रिहा भएकी छन्। वडाध्यक्ष देवकोटाको जाहेरीका आधारमा नियन्त्रणमा लिइएकी कुँवरलाई जिल्ला प्रशासन कार्यालयले पाँच हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको आदेश बमोजिम कुँवर धरौटी रकम बुझाएर हिरासतमुक्त भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार प्रशासनको आदेशपछि उनलाई हिरासतबाट छाडिएको हो। प्रहरीले कुँवरलाई दुई पटक गरी (पहिलो पटक पाँच दिन र दोस्रो पटक तीन दिन) जम्मा आठ दिन हिरासतमा राखेर घटनाबारे अनुसन्धान गरेको थियो।
महेन्द्रनगरस्थित एक होटलमा आयोजित सार्वजनिक कार्यक्रमको रिपोर्टिङका क्रममा दुई पक्षबीच विवाद भएको थियो। आपसी भनाभन बढ्दै जाँदा कुँवरले वडा अध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको दृश्य भिडियोमा सार्वजनिक भएको थियो, जसलगत्तै उनलाई वडा प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। यद्यपि, पत्रकार कुँवरले भने आफ्नो फेसबुक अकाउन्टमार्फत भिडियो सार्वजनिक गर्दै सुरुमा वडाध्यक्षले नै आफूमाथि दुर्व्यवहार गरेको दाबी गरेकी थिइन्।



