बैतडी । अविरल वर्षाका कारण दार्चुला र बैतडीका विभिन्न स्थानमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ का दुई स्थान र बैतडीको गोकुलेश्वर–लटिनाथ सडकखण्डको एक स्थानमा पहिरो खसेर सडक सञ्जाल अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मंगलबार बिहान ती तीनवटै स्थानमा पहिरो खसेको हो। राजमार्ग अवरुद्ध भएसँगै सवारीसाधन र यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्। हाल स्थानीय तहसँगको समन्वयमा सडकमा जम्मा भएको पहिरो पन्छ्याएर यातायात सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।



