काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष विगतको तुलनामा निकै छिटो अर्थात् एसईईको २९ औँ र कक्षा १२ को ४० औँ दिनमा नतिजा सार्वजनिक गरे पनि यसको विश्वसनीयतामाथि प्रश्न उठेको छ। हतारमा नतिजा प्रकाशन गर्दा प्राविधिक र मानवीय त्रुटि बढेको भन्दै कक्षा १२ का विद्यार्थीहरूले शिक्षामन्त्री सस्मित पोखरेलको राजीनामा माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन समेत गरेका छन्। नतिजामा चित्त नबुझेपछि कक्षा १२ का ३२ हजार ८ सय र एसईईका ३२ हजार २ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका छन्, जसमध्ये एसईईका १ हजार ८ सय ७९ जना (५.८१ प्रतिशत) को नतिजा परिवर्तन भइसकेको छ। उत्तरपुस्तिका परीक्षण गर्दा शिक्षकबाट अंक जोड्न गल्ती भएको, ७० अंकलाई ७ मात्र इन्ट्री गरिएको र करिब १ हजार उत्तरपुस्तिका परीक्षण केन्द्रमै छुटेको जस्ता गम्भीर त्रुटिहरू फेला परेका छन्।
वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि छिटो नतिजा निकाल्न कपी जाँच्ने केन्द्र २८ बाट बढाएर ४२ पुर्याइए पनि शिक्षकहरूलाई पर्याप्त भौतिक तालिम नदिई अनलाइनबाटै काम गराउँदा यस्ता समस्या आएको बोर्डका अधिकारीहरू स्वीकार गर्छन्। यसैबीच, पुनर्योगका लागि एसईईमा ५ सय र कक्षा १२ मा प्रतिविषय १ हजार रुपैयाँ शुल्क तोकिएकामा बोर्डको गल्तीको सजाय विद्यार्थीले भोग्नुपरेको भन्दै चौतर्फी विरोध भइरहेको छ भने विरोधपछि शिक्षामन्त्री पोखरेलले मन्त्रालयका उपसचिवहरूको नेतृत्वमा एक अध्ययन समिति गठन गरेका छन्।



