सुदूरपश्चिममा बजेट छलफल अनिश्चित, एमालेद्वारा संशोधनको माग

प्रकाशित मिति:

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथिको छलफल अनिश्चित बनेको छ। सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलले बजेटमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेपछि प्रदेशसभामा बजेटमाथिको छलफल प्रभावित भएको हो।

नेपाली काँग्रेस नेतृत्वको सरकारमा साझेदार रहेको एमालेले यथास्थितिमा बजेट पास गर्न नसकिने स्पष्ट पारेको छ। एमालेले बजेट अपुरो रहेको, विनियोजन विधेयकका सिद्धान्त विपरीत भएको, मन्त्रालयगत विनियोजन नराखिएको र योजना छनोटका मापदण्ड उल्लंघन गरिएको आरोप लगाएको छ। गत असार १ गते आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेशसभामा बजेट पेस गर्नुभएको थियो। तर, बजेट आएको १५ दिन बितिसक्दा पनि प्रदेशसभामा छलफल सुरु हुन सकेको छैन।

आगामी आर्थिक वर्षको बजेट असारभित्रै पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता भए पनि प्रदेशसभाका विषयगत समितिका सदस्यहरू यतिबेला प्रदेश बाहिर भ्रमणमा छन्। सामाजिक विकास समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र विधायन समिति प्रदेशबाहिर रहेकाले प्रदेशसभा बैठक कहिले बस्ने भन्ने टुङ्गो लाग्न सकेको छैन।

यता नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक सरस्वती खड्काले भने मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेसँग बजेटका विषयमा सहमतिको प्रयास गरिरहनुभएको र असार १८ वा २० गतेदेखि प्रदेशसभामा बजेटमाथि छलफल सुरु हुने दाबी गर्नुभएको छ। सत्ता साझेदार दलहरूबीच सहमति नजुट्दा सुदूरपश्चिममा सत्ता समीकरण फेरबदल हुनसक्ने चर्चा समेत सुरु भएको छ।

ताजा समाचार