काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीलाई प्रवाह हुने सेवालाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन विभिन्न सुधारका कार्यक्रम अघि बढाएको छ। त्रिविका निमित्त रजिष्ट्रार प्रा.डा. महानन्द चालिसेले विश्वविद्यालय अनुदान आयोगलाई पठाएको विवरण अनुसार सेवा सुधारका लागि हालको नियम संशोधन तथा आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायमा प्रक्रिया अघि बढाइएको हो।
त्रिविले परीक्षा नियन्त्रण कार्यालयमार्फत ट्रान्सक्रिप्टका लागि अनलाइन आवेदनको अवस्थाबारे विद्यार्थीले आफ्नै मोबाइल एप वा वेबसाइटबाट जानकारी लिन सक्ने प्रणाली विकास गरिरहेको जनाएको छ। विवरणहरू सच्याउनुपर्ने अवस्थामा समेत आवेदन दिएको १५ दिनभित्र सेवा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनको तयारीमा रहेको विश्वविद्यालयले जनाएको छ। यसैगरी, २४सै घण्टा सञ्चालन हुने नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने तयारी गरिएको छ।
शैक्षिक क्षेत्रमा दलीय हस्तक्षेप कम गर्न र विद्यार्थीको वास्तविक आवाज समेट्न त्रिविले क्याम्पस परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिवि ऐन तथा नियममा स्ववियुको व्यवस्था भए पनि दलीय विद्यार्थी संगठनहरूलाई आधिकारिक रूपमा कुनै पनि संरचना उपभोग गर्न नदिइएको र कतै त्यस्ता संरचना बनाइएको पाइएमा तत्काल हटाउन मिति २०८३ असार १५ गते पत्राचार गरिएको त्रिविले जनाएको छ। ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ बमोजिम ‘स्टुडेन्ट काउन्सिल’ संयन्त्रको विकास गर्न विद्यमान नियममा संशोधनका लागि त्रिवि सभाले निर्णय गरेपश्चात सो प्रक्रिया अगाडि बढाइने विवरणमा उल्लेख छ।



