गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा जङ्गली जनावर धपाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको ज्यान गएको छ। धुर्कोट गाउँपालिका–५ मन्टारी निवासी ६० वर्षीया हुमकला भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो। घटनाबारे गुल्मीका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार गएराति करिब साढे १ बजे करेन्ट लागेर गम्भीर घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको थियो। तर, अस्पताल पुर्याएकी उनलाई राति नै चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतकका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेका थिए। घटनापछि अनुसन्धानका लागि प्रहरीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली आज बिहानै घटनास्थल पुगेर आवश्यक प्रक्रिया अघि बढाएको छ।



