पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

प्रकाशित मिति:

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुरूप सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएपछि महासङ्घले यस्तो माग गरेको हो।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनु आवश्यक रहेको बताएका छन्। इन्धनको मूल्यवृद्धि हुँदा भाडा बढाउने निर्णय हुने तर मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना गर्ने गरेको उनको भनाइ छ।

अध्यक्ष सिटौलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्यलाई मात्र नभएर सवारीसाधनको सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाटपूर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्याङ्कन गरिनुपर्नेमा जोड दिएका छन्।

ताजा समाचार