इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

प्रकाशित मिति:

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठुलो कटौती गरेसँगै सार्वजनिक यातायातको भाडादर घट्ने निश्चित भएको छ। निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा ३० रुपैयाँ मूल्य घटाएपछि यातायात व्यवस्था विभागले स्वचालित तथा वैज्ञानिक भाडा प्रणालीअनुसार नयाँ दररेट निर्धारणका लागि प्राविधिक गृहकार्य सुरु गरिसकेको छ।

विगतमा इन्धनको मूल्य वृद्धि हुँदा वैज्ञानिक भाडा प्रणालीअनुसार १३ प्रतिशत भाडा बढाउनुपर्ने सिफारिस भए पनि सरकारले आम नागरिकलाई राहत दिन भन्दै ५ प्रतिशत मात्रै वृद्धि गरेको थियो। त्यसबेला व्यवसायीहरूले लागत नउठेको भन्दै असन्तुष्टि जनाएका थिए। तर, अहिले इन्धनको मूल्यमा भएको ठुलो गिरावटले सञ्चालन खर्च उल्लेख्य रूपमा घट्ने भएपछि यातायात व्यवसायीहरू स्वयं नै भाडा समायोजनका लागि तयार देखिएका छन्।

विभागले इन्धन, लुब्रिकेन्ट्स र मर्मत सम्भारलगायतका सूचकहरूलाई आधार मानेर नयाँ भाडादर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। विभागका अनुसार यात्रुवाहक सवारीको भाडा दर घट्ने भए पनि ढुवानी सेवा (मालवाहक सवारी) को भाडादरमा भने तत्काल खासै ठुलो फेरबदल हुने छैन। विभागका एक कर्मचारीका अनुसार सार्वजनिक बसहरूको भाडा केही प्रतिशत घटे पनि ढुवानीको भाडामा भने खासै गिरावट आउने सम्भावना कम छ। कति प्रतिशत भाडा घटाउने भन्ने विषयमा विभागमा अहिले छलफल चलिरहेको छ।

ताजा समाचार