काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटका क्रममा दुई देशबिचको आपसी सम्बन्ध, संसदीय सहकार्य र लगानीका विषयमा छलफल भएको छ।
भेटका क्रममा सभामुख अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरेबियाको शुरा काउन्सिलसँग रचनात्मक तथा संस्थागत सहकार्य गर्न इच्छुक रहेको बताए। सङ्घीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भएको जानकारी गराउँदै उनले यस समूहले दुवै देशका संसदीय पारस्परिक हितका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
श्रम आप्रवासनको क्षेत्रमा बढ्दो सहकार्यप्रति सन्तोष व्यक्त गर्दै सभामुख अर्यालले साउदी अरेबिया नेपाली श्रमिकका लागि प्रमुख श्रम गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गरे। हाल साउदी अरेबियामा करिब ३ लाख ८४ हजार ८६५ नेपाली नागरिक कार्यरत छन्।
सभामुख अर्यालले मार्च २०२७ मा नेपाल र साउदी अरेबियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको जानकारी दिए। यस ऐतिहासिक अवसरलाई दुवै देशबिचको सुदृढ साझेदारी तथा भविष्यको अझ घनिष्ठ सहकार्यलाई प्रतिबिम्बित गर्ने गरी अर्थपूर्ण कार्यक्रममार्फत मनाउने अपेक्षा उनले व्यक्त गरे।
नेपाल र साउदी अरेबियाबिच आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै सभामुख अर्यालले नेपाल सरकारले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि लगायतका प्राथमिकताका क्षेत्रमा साउदी अरेबियाबाट थप लगानी र सहयोगको अपेक्षा गरेको बताए। उनले नेपाल साउदी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने धारणा समेत राखे।
सो अवसरमा राजदूत मनिखले नेपाल र साउदी अरेबियाबिचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो देश सदैव सकारात्मक रहेको बताए। नेपालसँगको सहकार्यलाई साउदी अरेबियाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तारका क्षेत्रमा थप सहकार्य गर्न इच्छुक रहेको धारणा व्यक्त गरे।
नेपालले सन् १९७८ मा साउदी अरेबियामा र साउदी अरेबियाले सन् २०१२ मा नेपालमा आफ्नो राजदूतावास स्थापना गरेका थिए।



