कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका बालबालिकामा गणित विषयप्रतिको रुचि र तार्किक सोच बढाउन शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित दुई दिने तालिममा नगरभित्रका २८ वटै सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्म गणित अध्यापन गराउने शिक्षकहरूको सहभागिता थियो।
तालिममा शिक्षकहरूलाई आधुनिक, व्यवहारमुखी र विद्यार्थीकेन्द्रित शिक्षण विधिबारे सीप प्रदान गरिएको छ। शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले गणितलाई सहज र रोचक विषयका रूपमा स्थापित गर्न तथा प्रविधिमैत्री एवं सामग्रीमा आधारित शिक्षण विधिमार्फत विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउन तालिम आयोजना गरिएको बताए। तालिमका रोष्टर प्रशिक्षक परमानन्द नाथले गणित बालबालिकाको विश्लेषणात्मक सोच र समस्या समाधान गर्ने सीप विकास गर्ने मुख्य आधार भएको उल्लेख गर्दै परम्परागत कण्ठ गर्ने विधिभन्दा ठोस सामग्रीमा आधारित शिक्षण बढी प्रभावकारी हुने प्रष्ट पारे।
तालिममा गणना सिद्धान्त, दैनिक जीवनसँग गणित जोड्ने अभ्यास, मानसिक गणना, खेल तथा स्थानीय स्रोत-सामग्रीको प्रयोग र सहपाठी सिकाइका माध्यमबाट गणितलाई सरल बनाउने अभ्यास गराइएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को समावेशी तथा बालमैत्री विद्यालय सुधार परियोजनाअन्तर्गत सहपाठी सिकाइ र बालकेन्द्रित शिक्षण विधिबारे पनि प्रशिक्षण दिइएको परियोजनाका प्रतिनिधि भीमबहादुर साउँदले जानकारी दिए। राष्ट्रिय माविका प्रधानाध्यापक धनसिंह महरा र शिवशङ्कर माविका प्रधानाध्यापक लक्ष्मी थापाले यस्ता व्यावहारिक तालिमले कक्षाकोठामा बुझाइमा आधारित सिकाइ गराउन र विद्यार्थीमा गणितप्रतिको डर कम गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।



