क्यूआर पार्टी’ भन्दै आलोचना गर्नेलाई हर्क साम्पाङको जवाफ: प्रमाणसहित आउनुस्

प्रकाशित मिति:

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो अभियान र पार्टीलाई लिएर भइरहेका आलोचनाको खण्डन गरेका छन्। दार्चुलामा झोलुङ्गे पुलको उद्घाटन सकेर काठमाडौँ फर्किने क्रममा उनले पार्टीलाई ‘क्यूआर पार्टी’ भनी टिप्पणी गर्नेहरूलाई तथ्य र प्रमाणसहित आउन चुनौती दिएका हुन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले अभियानका क्रममा सङ्कलन भएको सहयोग रकमको एक रुपैयाँ पनि दुरुपयोग नभएको स्पष्ट पारे। उनले आफूहरूले उठाएको सहयोगको सम्पूर्ण हिसाब पारदर्शी रहेको जिकिर गर्दै भने, “हाम्रो अभियानलाई क्यूआर पार्टी भन्नेहरूले आफूले एक रुपैयाँ मात्रै भए पनि सहयोग गरेको प्रमाण वा स्क्रिनसट देखाऊन्, बिना प्रमाण हावामा कुरा गरेर हुँदैन।”

लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई भए पनि आरोपहरू प्रमाणमा आधारित हुनुपर्ने उनको भनाइ थियो। कसैको मुख थुन्न नमिल्ने भन्दै उनले जनसहयोगबाट सञ्चालित यस्ता सामाजिक अभियानहरू निरन्तर जारी रहने बताए।

यसैगरी, साम्पाङले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह नेतृत्वको कार्यशैलीप्रति पनि संक्षिप्त टिप्पणी गरे। महानगरको पछिल्लो सय दिने कार्यकालले केही गर्ने कोसिस गरे पनि अपेक्षाकृत नतिजा अझै आउन नसकेको उनले बताए। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्दै उनले संविधान संशोधन जनताको हित र देशको आवश्यकता अनुकूल हुनुपर्ने धारणा राखे।

ताजा समाचार