काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोहमा बोल्दै उनले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।
मन्त्री पोखरेलले नयाँ पुस्ताले सोचेजस्तो समुन्नत समाज निर्माणका लागि सरकार लागिपरेको भन्दै त्यसमा युवाहरूको भूमिका सक्रिय हुनुपर्नेमा जोड दिए।
काठमाडौँ विश्वविद्यालयबाट हालसम्म विविध विधामा ५१ हजारभन्दा बढी जनशक्ति उत्पादन भइसकेको उल्लेख गर्दै मन्त्री पोखरेलले उनीहरूले पनि सरकारलाई सहयोग गरेर समुन्नत समाजको सपना पूरा गर्नुपर्ने अपेक्षा राखे। उनले केयुबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीहरूलाई आग्रहसमेत गरे।



