काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। विभागले गोरखापत्र दैनिकमा राष्ट्रिय स्तरको सार्वजनिक सूचना प्रकाशित गर्दै अनुसन्धानका लागि उपस्थित हुन निर्देशन दिएको हो।
यसअघि विभागको टोलीले बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर बयानका लागि उपस्थित हुने सम्बन्धी पत्र टाँस गरेको थियो। जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले बयानका लागि बोलाइएको विभागको सूचनामा उल्लेख छ।
उनीमाथि नेपाल टेलिकम र राहदानी (पासपोर्ट) ठेक्का प्रक्रियामा भएका आर्थिक अनियमितताहरूमा संलग्नता रहेको भन्दै परेको उजुरीका आधारमा विभागले छानबिन अघि बढाएको हो। यसै प्रकरणमा विभागले यसअघि नै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवाका नाममा समेत अनुसन्धानका लागि पुर्जी जारी गरिसकेको छ।



