धनगढी । सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का प्रमुख आर्थिक दस्तावेजहरू टेबुल गरिएका छन्। मंगलबार बसेको प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत चौथो बैठकमा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सभासमक्ष प्रस्तुत गरेका हुन्।
प्रदेश सभा नियमावली, २०८० को नियम १३५ को उपनियम (३) बमोजिम बजेट प्रस्तुत गरिएको हो। त्यसैगरी, मन्त्री धामीले नियम १४६ को उपनियम (१) अनुसार ‘अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक’ तथा नियम १३९ को उपनियम (६) बमोजिम संचित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने व्यवस्था सम्बन्धी विधेयक (विनियोजन विधेयक) समेत सभामा टेबुल गरेका छन्।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गरेका छन्। यसका साथै, थारु आयोग, मुस्लिम आयोग र मधेशी आयोगका सातौँ वार्षिक प्रतिवेदनहरू पनि मंगलबारकै प्रदेश सभा बैठकमा प्रस्तुत गरिएको छ।



