काठमाडौं । भारत सरकारले सेफगार्ड ड्युटी (संरक्षणात्मक भन्सार महसुल) लागू गरेपछि भारततर्फ हुने नेपालको फलाम तथा स्टिल निर्यातमा ठूलो गिरावट आएको छ। यसले नेपालको निर्यात आम्दानी घट्नुका साथै रोजगारी कटौती हुने र आगामी दिनमा थप व्यापारिक प्रतिबन्ध लाग्न सक्ने चिन्ता बढाएको छ।
भन्सार विभागको तथ्यांक अनुसार, गत आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले भारततर्फ १५ अर्ब ४२ करोड रुपैयाँको फलाम तथा स्टिल निर्यात गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यो ६८.६७ प्रतिशतले घटेर ४ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ। भारतको नयाँ व्यापार नीतिका कारण नेपालले एक वर्षभन्दा कम अवधिमै १० अर्ब ५९ करोड रुपैयाँ बराबरको निर्यात बजार गुमाएको हो।
भारतले सस्तो आयात रोक्न र विशेष गरी चिनियाँ कच्चा पदार्थको प्रयोग नियन्त्रण गर्न गत डिसेम्बरमा तोकिएका स्टिल उत्पादनमा ११ देखि १२ प्रतिशतसम्मको तीनवर्षे सेफगार्ड ड्युटी लगाएको थियो। नेपाली उद्योगीहरूले भने नेपाल अल्पविकसित मुलुक (एलडीसी) भएकाले यहाँका उत्पादनमा यस्तो महसुल लगाउनु न्यायसङ्गत नभएको तर्क गर्दै आएका छन्। यसबाहेक, भारतले नेपाली उद्योगीहरूलाई दिइने ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस) प्रमाणपत्र नवीकरण प्रक्रिया समेत थाती राखेका कारण निर्यातमा थप अन्योलता थपिएको छ।
व्यापार विज्ञहरूले यस्ता गम्भीर व्यापारिक समस्याहरूलाई सरकार–देखि–सरकार (जीटूजी) वार्तामार्फत तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्। भारतले आगामी अक्टोबर वा नोभेम्बरमा यस महसुलको वार्षिक समीक्षा गर्ने तयारी गरिरहेकाले नेपाल सरकारले उच्च तहबाटै यो कर हटाउन पहल गर्नुपर्ने उद्योगीहरूको माग छ।



