काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा सम्बन्ध, महत्त्वपूर्ण खनिज र युरेनियम सुरक्षासम्बन्धी वार्ताका लागि अस्ट्रेलिया भ्रमणमा गएका छन्। भ्रमणका क्रममा उनले आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बनिजसँग विश्वसनीय युरेनियम पाइपलाइन सुरक्षित गर्ने विषयमा बिहीबार छलफल गर्ने अपेक्षा गरिएको छ। विश्वको २८ प्रतिशत युरेनियम स्रोत ओगटेको अस्ट्रेलिया र आणविक ऊर्जा क्षमता तीव्र रूपमा विस्तार गर्ने योजनामा रहेको भारतबिच सन् २०१५ मा आणविक सहयोग सम्झौता भए पनि कानुनी अवरोधका कारण हालसम्म व्यापार सहज हुन सकेको छैन। विद्युतीय सवारीको बजार बढाउने महत्त्वाकांक्षासहित भारत लिथियम लगायतका महत्त्वपूर्ण खनिजको खोजीमा रहेको र अस्ट्रेलियासँग यसको प्रचुर भण्डार रहेकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। चीनको विपक्षका रूपमा हेरिने क्वाड (अस्ट्रेलिया, भारत, अमेरिका र जापान) समूहमा अमेरिकाले कम चासो देखाएका बेला नयाँ दिल्ली र क्यानबेराले रक्षा मामिलामा सहकार्य बढाउने इच्छा देखाएका छन्। मेलबर्नमा आयोजना हुने सामुदायिक र्यालीमा मोदीलाई भव्य स्वागत गर्ने तयारी गरिएको छ, जहाँ २० हजारभन्दा बढी मानिस सहभागी हुने अनुमान छ।



