काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ। वीर अस्पतालको भेन्टिलेटरमा उपचाररत् नेपालीको आज बिहान एघार बजेर बीस मिनेटमा मृत्यु भएको काठमाडौँ प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिएका छन्।
गएराति उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था झन् जटिल बनेपछि चिकित्सकको सल्लाहमा रोकिएको थियो। चिकित्सकहरूका अनुसार नेपालीको पहिलो शल्यक्रिया गरिए पनि अवस्थामा सुधार आउन सकेको थिएन।
उनको अनुहार, टाउको, घाँटी र छाती अत्यधिक जलेको थियो भने शरीरका भित्री अङ्गहरूमा समेत गम्भीर असर पुगेकाले उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ।




