काठमाडौं । वैदेशिक रोजगार विभागले विभागको अनुमति विना भारतीय विमानस्थल प्रयोग गरी नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले शुक्रबार एक सूचना जारी गर्दै मागेको विवरण बुझाउन आनाकानी गर्ने थप ४३४ व्यवसायी संस्थालाई समेत सचेत गराएको छ।
विभागले गत चैत १ गतेदेखि जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारको उडान विवरण माग गरेको थियो। सञ्चालनमा रहेका कुल १ हजार ११७ म्यानपावर कम्पनीमध्ये ६७८ वटाले मात्र विवरण बुझाएका थिए। प्राप्त विवरणको अध्ययन गर्दा १५९ वटा कम्पनीले विभागको पूर्वस्वीकृति नलिई भारतीय विमानस्थल प्रयोग गरेर कामदार पठाएको पाइएको हो।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ बमोजिम वैदेशिक रोजगारीमा जाने कामदारले स्वदेशी विमानस्थल नै प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था छ। उक्त व्यवस्था उल्लंघन गरेको भन्दै विभागले १५९ कम्पनीलाई ऐनको दफा ५४ अनुसार पहिलो पटक सचेत गराएको हो। यस्तै, विवरण बुझाउन अटेर गर्ने ४३४ कम्पनीलाई ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पुनः विवरण पेस गर्न निर्देशन सहित सचेत गराइएको छ।
पटक–पटक ऐन र नियम उल्लंघन गर्ने आठवटा म्यानपावर कम्पनीलाई भने जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। जरिवानामा पर्नेहरूमा ग्रान्ड सुइट जब, मास हृयुमन रिसोर्स, नुन रिसोर्स, एपेक्स एचआर कन्सल्टेन्सी, टेस्ला ओभरसिज, सुनागुवा इन्टरनेसनल, एलाइड इन्टरनेसनल र अञ्जली ओभरसिज सर्भिस रहेका छन्। अनुमतिबिना भारतीय विमानस्थल प्रयोग गर्दा कामदारको सुरक्षा, निगरानी र अभिलेख व्यवस्थापनमा गम्भीर असर पर्ने भएकाले अनुगमनमा थप कडाइ गरिएको विभागले जनाएको छ।



