होटल व्यवसायीसँग प्रधानमन्त्री शाहको प्रतिबद्धता: निजी क्षेत्र सरकारको उच्च प्राथमिकतामा

प्रकाशित मिति:

काठमाडौं । नेपाल सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकाले राज्यलाई नै आफ्नो मुख्य साझेदार मानेर ढुक्कसँग लगानी गर्न प्रधानमन्त्री वालेन्द्र शाहले होटल व्यवसायीहरूलाई आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल सङ्घ नेपाल (हान) को प्रतिनिधिमण्डलसँग भएको संवादमा उनले पर्यटन क्षेत्रको समग्र विकासका लागि सरकारले तीव्र गतिमा गृहकार्य गरिरहेको स्पष्ट पारे । प्रधानमन्त्री शाहले सम्पूर्ण व्यवसायीलाई कानुनी दायराभित्र रहेर व्यावसायिक दायित्व निर्वाह गर्न सचेत गराउँदै साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा अनिवार्य दर्ता भई कर प्रणालीमा आबद्ध हुन सल्लाह दिए । साथै, सार्वजनिक–निजी साझेदारी (पिपिप) मोडलमा अघि बढाउन सकिने सम्भावित योजनाहरूबारे अध्ययन गर्न उनले जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको समेत उपस्थिति रहेको सो कार्यक्रममा व्यवसायीहरूले नेपाली होटल क्षेत्रको क्षमता र विद्यमान अवस्थाबारे जानकारी गराएका थिए । हानका पदाधिकारीहरूले हाल देशभित्र वार्षिक ४० लाख पर्यटकलाई स्तरीय सेवा दिन सक्ने पूर्वाधार तयार भए पनि अहिले मुस्किलले १२ लाख मात्र भित्रिएको तथ्याङ्क प्रस्तुत गरे । पर्यटकको संख्या बढाउन सके मुलुकभित्रै व्यापक रोजगारी सिर्जना हुने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग प्रमुख खम्बा बन्ने उनीहरूको भनाइ थियो । नेपाललाई वैवाहिक गन्तव्य, सीमापार पर्यटन र आरोग्य पर्यटनको केन्द्र बनाउन सकिने पर्याप्त आधार रहेको भन्दै व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराए ।

व्यवसायीहरूले आफ्ना उद्योगलाई उत्पादनमूलक क्षेत्र सरह विद्युत् महसुलमा सहुलियत दिनुपर्ने र २५ श्ययासम्मका होटललाई तोकिएको झन्झटिलो वातावरणीय मूल्याङ्कनको व्यवस्थालाई संशोधन गरी ५० श्ययासम्म पुर्‍याउन माग राखे । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको सेवा सुधार्नुका साथै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन उनीहरूले आग्रह गरे । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा रहेको ट्रेडमार्क रोयल्टी सम्बन्धी पाँच प्रतिशतको सीमा हटाएर आपसी समझदारीमा शुल्क तय गर्ने वातावरण बनाउन र पर्यटनसँग जोडिएका पुराना कानुनहरू परिमार्जन गर्न उनीहरूको माग थियो । विवाहका लागि आउने विदेशीलाई गरगहना ल्याउने प्रक्रिया खुकुलो बनाउन तथा आरोग्य पर्यटनका लागि तस्बिर र भिडियो मात्र नभई विज्ञ टोलीसहितको बृहत् प्याकेज ल्याउन व्यवसायीहरूले माग गरे । बैठकमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधरसहित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूको सहभागिता थियो ।

ताजा समाचार