कञ्चनपुर यातायातका कर्मचारीमाथि कार्यालयमै हातपात, दोषीमाथि कडा कारबाहीको माग

प्रकाशित मिति:

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत कर्मचारीमाथि कार्यालयमै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो सहायक कम्प्युटर अपरेटर विमलबहादुर कुँवरमाथि दुर्व्यवहार गरेको आरोपमा भीमदत्त नगरपालिका–१८ का हेमन्त चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बुधबार दिउँसो ३:३० बजेतिर कार्यालयमा प्रवेश गरेका चन्दले कुँवरलाई गालीगलौज गर्दै हातपातको प्रयास गरेको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका सूचना अधिकारी रामदत्त भट्टले जानकारी दिए। कार्यालयमा प्रवेश गरी गालीगलौज गर्न थालेपछि केही समय कार्यालयको कामकाजसमेत प्रभावित भएको थियो।

सूचना अधिकारी भट्टका अनुसार चन्द कार्यालयको सेवा प्रवाहको विषयलाई लिएर नभई व्यक्तिगत घटनाको विषयलाई लिएर आक्रोशित भई सहायक कम्प्युटर अपरेटर कुँवरमाथि गालीगलौज र हातपातको प्रयासमा उत्रिएका थिए। कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक सेवामा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि हातपात तथा गालीगलौज गर्ने चन्दलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

कुँवरमाथि हातपातको प्रयास गरेको आरोपमा चन्दलाई महेन्द्रनगर बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार