महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१, विश्वकर्मा चोकस्थित गौशाला–माइस्थान सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
गौशालाबाट माइस्थानतर्फ जाँदै गरेको ज ७ प ३७८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा स्थानीय ५ वर्षीय आदित्य कुमार महतोलाई ठक्कर दिएको थियो। ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका बालकलाई प्रारम्भिक उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि जनकपुरको न्युरो अस्पताल हुँदै ललितपुरस्थित मेडिसिटी अस्पताल पठाइएको थियो।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा घाइते बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय गौशालाको टोलीले मोटरसाइकल र चालक गौशाला नगरपालिका–८, बेलगाछीका ४१ वर्षीय दिलीप कुमार खड्कालाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




