काठमाडौं । सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’ को शिलान्यास गरिएको छ। गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गरेका हुन्।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको मर्म र नयाँ पुस्ताका माग सम्बोधन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। आफूहरूले जनतासामु खाएको कसम अक्षरशः पूरा गर्ने उनको भनाइ थियो।
गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। त्यसपछि सम्पन्न गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमार्फत वर्तमान सरकार बनेको हो। यसैबीच, यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।




