काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिका तथा विद्यार्थीमा गम्भीर मानसिक आघात (ट्रमा) देखिन सक्ने भन्दै विज्ञहरूले तत्काल मनोपरामर्श सेवा विस्तार गर्न सुझाव दिएका छन्। विपद्मा आफन्त र सहपाठी गुमाएका बालबालिकालाई डरत्रासबाट मुक्त गरी सामान्य दैनिकीमा फर्काउन तीनै तहका सरकारले समन्वयात्मक रूपमा परामर्श अभियान सञ्चालन गर्नुपर्ने विज्ञहरूको जोड छ।
बाढीका कारण हालसम्म १७ वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने २५० भन्दा बढी विद्यार्थी र १६ जना शिक्षक अझै सम्पर्कविहीन छन्। कुल नौ हजारभन्दा बढी विद्यार्थी प्रभावित भएको प्रारम्भिक विवरण छ।
विपद् भोगेका बालबालिकामा आत्तिने, झस्किने, टोलाउने र पढाइप्रति अरुचि देखिने जस्ता समस्या आउने भएकाले विद्यालय खुल्नुअघि र खुलेपछि पनि निरन्तर मनोसामाजिक परामर्श आवश्यक रहेको मनोविद्हरूले बताएका छन्। यसका लागि सरकारी निकाय तथा सरोकारवाला संस्थाहरू मिलेर तत्काल प्रभावित क्षेत्रमै पुगी विशेष परामर्श कार्यक्रम अघि बढाउनुपर्ने विज्ञहरूको सुझाव छ।




